कोर्टमार्शल कि सल्लाहकार?

                             Image         सैनिक अनुशासन उल्लंघन गरेको अभियोगमा जंगी अड्डाले कोर्टमार्शल गर्ने तयारी गरिरहेका तीनतारे जर्नेल कुलबहादुर खड्का प्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा सल्लाहकार बनेर सिंहदरबार छिर्ने तयारीमा लागेका  छन्।

         जंगी अड्डाले कोर्टमार्शल गरी जेल हाल्न लागेपछि खड्का सम्भावित कारवाहीबाट बच्न प्रधानमन्त्री नेपालको शरणमा पुगेको समाचार स्रोतले बताएको छ। सेनाको चेन अफ कमान्ड उल्लंघन गरी नेपाली सेनामा माओवादी हस्तक्षेपको मतियार बनेका खड्का सेनालाई विघटनको प्रक्रियामा लैजान प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बन्न खोजेको समाचार स्रोत बताउँछ। उता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी सचिवालय बैठकको निर्णय सरकारी लेटरप्याडमा सारेर कायममुकायम सेनापतिको चिठ्ठी पाएका खड्का प्रम नेपालसँग पुगेको घटनालाई सैन्य अधिकारीहरुले आश्चर्यजनक ढंगले हेरेका छन्। खड्काले आफूलाई चारतारे महारथीमा बढुवा गरी पाउन प्रधानमन्त्रीसँग बिन्ती बिसाएका छन्। सैनिक ऐन अनुसार उनलाई बढुवा गर्न मिल्दैन। सैनिक ऐनको दफा ७ (३) मा सेनामा महारथीको दरबन्दी एक मात्र रहने र सोही महारथी नेपाली सेनाको प्रधानसेनापति हुने किटान गरेको छ। खड्कालाई कारवाही गर्ने विषयमा प्रधानमन्त्री नेपाल र रक्षामन्त्री विद्या भण्डारीबीच नै ‘टसल’ बढेको छ। मन्त्री भण्डारी खड्कामाथि तत्काल कारवाहीको पक्षमा छिन्। प्रधानमन्त्री नेपाल भने खड्कालाई सल्लाहकार बनाएर माओवादीलाई खुशी बनाउने योजनामा रहेको प्रम निकट स्रोत बताउँछ।
भर्यामङ एमाले
नेपाली सेनाको परमाधिपति राष्ट्रपतिलाई क्रस गरेर प्रचण्ड सरकारबाट सेनाको प्रमुखको चिठ्ठी लिएका खड्काले एमालेलाई भर्यातङ बनाएर प्रधानमन्त्रीलाई भेट्ने सफलता पाएका हुन्। रक्षामन्त्री विद्या भण्डारीले प्रधानसेनापतिको च्यानलमार्फत् मात्र आफूलाई भेट्न आउनु भन्ने सन्देश पठाएपछि निराश भएका खड्का एमाले महासचिव ईश्वर पोखरेलको सहारामा बालुवाटार पुगेका थिए। खड्काले अवैधानिक बाटोबाट प्रधानमन्त्रीलाई भेटेको विषयलाई अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ हेरेको स्रोत बताउँछ। किनभने खड्का प्रकरणबाट विकसित घटनाक्रमबाटै माधव नेपाल प्रधानमन्त्री बन्न सम्भव भएको हो। माओवादी सरकारले रुक्मांगत कटवाललाई सेनापतिबाट हटाउने निर्णय गरी खड्कालाई प्रधानसेनापति बनाउने निर्णय गरेपछि नै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएका थिए। तर, तिनै विवादास्पद खड्कालाई बोक्नुपर्ने बाध्यता एमालेलाई के पर्योा? भन्ने कुरा सेनाले मात्रै होइन, कुटनीतिज्ञहरुले पनि बुझ्न सकेका छैनन्।
कोर्टमार्शल हुने
खड्का कारवाहीबाट बच्न जतिसुकै राजनीतिक चलखेल गरिरहेको भए पनि खड्कामाथि कारवाहीको अन्तिम तयारी भइरहेको छ। खड्काले सेनाको चेन अफ कमान्डभन्दा बाहिर गएर राजनीतिक भेटघाट गरेको अभियोगमा कारवाही हुन लागेको हो। ‘उहाँबाट सैनिक अनुशासन विपरीत काम भएको देखिएको छ।’ सेनाको कानुनी विभागका प्रमुख बीएकुमार शर्माले हिजो दृष्टिसँग भने– यसबारेमा प्रारम्भिक छानविन भइसकेको छ।’
खड्कामाथि कारवाहीका लागि थप आधार समेत खडा भइसकेका छन्। सैनिक ऐन अनुसार माथिल्लो निकायको अनुमति बिना कुनै पनि सैनिकले ब्यारेक बाहिर राजनीतिक भेटघाट गर्न पाउँदैन। यसअघि प्रधानसेनापतिलाई क्रस गरेर पुष्पकमल दाहाल प्रचण्ड तथा रामबहादुर थापा बादलसँग भेट गरेर चेन अफ कमान्ड उल्लंघन गरेका खड्काले नयाँ प्रधानमन्त्री नेपालसँग पनि प्रधानसेनापतिलाई क्रस गरेर भेट गरी दोस्रो पटक सैनिक अनुशासन उल्लंघन गरेका छन्। दोस्रो उल्लंघनपछि खड्कामाथि कारवाही अघि बढाउन झन् सजिलो भएको छ। सैन्य स्रोतका अनुसार खड्कामाथि कारवाहीका लागि कोर्ट अफ इन्क्वायरी सुरु गर्न लागिएको छ। कोर्ट अफ इन्क्वायरीले खड्कामाथि बयान लिने र प्रमाण संकलन गरी मुद्दा दायर गर्ने छ। त्यसपछि सजायको निर्णय हुनेछ। खड्कामाथि नसिहतदेखि सेवाबाट अवकाशसम्मको कारवाही हुनसक्ने बताइएको छ।
कतिपयले खड्का असार ६ गते अवकाश हुने भएकाले कोर्टमार्शल नहुने बताइरहेका छन्। तर, सैनिक ऐनमा कुनै पनि सैनिकमाथि सेवामा बहाल रहेका बखत गरेको कसुरका हकमा अवकाश भएको ६ महिनासम्म कारवाही गर्ने व्यवस्था रहेकाले खड्का उम्कने अवस्था छैन। यसअघि २०५१ सालमा योगेन्द्रजंग राणालाई अवकाश भएको १४ दिनपछि भ्रष्टाचार मुद्दामा कारवाही अघि बढाइएको थियो। स्रोतका अनुसार खड्कालाई सेनापति बनाउन लबिङ गरेका उपरथी दीपक गुरुङ, शिवराम प्रधान तथा प्रमुख सेनानी सुरेश बानियाँ, सन्तोष ढकाल, विजय पाँडे र दीपक बानियाँमाथि पनि कोर्टमार्शलको तयारी भएको छ। सेनापति प्रकरणपछि काठमाडौंबाट सुरेश बानियाँको २५ बाहिनी महेन्द्रनगर र ढकालको पूर्वी पृतना र पाँडेको जुम्ला सरुवा भइसकेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: