कम्युटर चलाउनु हुन्छ ? त्यसो भए तपाई चोर हो

                              ‘के तपाईं कम्प्युटर चलाउनुहुन्छ – चलाउनुहुन्छ भने तपाईं चोर हो ।’
सूचना सञ्चार प्रविधिका शिक्षक विक्रम श्रेष्ठका यी शब्दले दर्शकदीर्घामा खैलाबैला मच्चियो । एकजनाले त उठेरै आफ्नो आक्रोश पोखे, ‘मैले मेरो मिहिनेतको ४० हजार रुपैयाँ खर्च गरेर डेस्कटप कम्प्युटर किनेको हुँ । म कसरी चोर भएँ ?’
विक्रमले उनलाई प्रतिप्रश्न गरे, ‘सफ्टवेरका लागि कति खर्चिनु भयो त ?’
अब ती सज्जन अवाक भए र पूरै हलमा एक किसिमको सन्नाटा व्याप्त भयो ।
                                    प्रसंग हो ‘सफ्टवेर स्वतन्त्रता’सम्बन्धी जानकारी दिन आयोजना गरेको कार्यक्रमको । कार्यक्रममा नेपालमा कम्प्युटर प्रयोगकर्ताहरूको स्थिति र तिनको व्यवहार बारेमा सूचना-­सञ्चार- प्रविधि विशेषज्ञ तथा कम्प्युटर प्रयोगकर्ताहरूबीचमा चर्काचर्की नै भयो । तर, अन्तिममा सबैले स्वीकार गरे, हामी कम्प्युटर चलाउने नाममा चोरी गरिरहेका छौं । हामीमध्ये अधिकांश ‘बौद्धिक सम्पत्ति’को अनाधिकृत खरिदबिक्री तथा प्रयोगमा सहभागी भएका छौं । जानेर वा नजानेर हामीले सफ्टवेर पाइरेसी अर्थात् सफ्टवेरको चोरी गरिरहेका छौं ।
कार्यक्रममा जानकारी गराइएअनुसार कम्युटर भनेको हार्डवेरमात्र होइन त्यसमा इन्स्टल गरिएको सफ्टवेर पनि हो । जसरी हामी हजारौं रुपैयाँ तिरेर हार्डवेर किन्छौं, त्यसैगरी सफ्टवेर पनि वैधानिक ढंगले खरिद गरेर प्रयोग गर्नुपर्छ । त्यस्तै सफ्टवेरलाई पनि दुई भागमा वर्गीकरण गर्न सकिन्छ । पहिलो हो प्रोपराएटरी सफ्टवेर । यस्ता सफ्टवेरको कोही प्रोपराएटर (मालिक) हुन्छ । यस्ता सफ्टवेरका प्रयोगकर्ताले सफ्टवेरसँग सम्बन्धित थुप्रै बन्देजकारी नियमहरू मान्नुपर्छ । त्यस्ता नियम मान्न असफल प्रयोगकर्तालाई दोषी मानी साइबर कानुनअर्न्तर्गत कारबाही पनि गर्न सकिन्छ ।
                               हामीमध्ये अधिकांशको कम्पुटरमा प्रयोग भएको विन्डोज अपरेटिङ सिस्टम यस्तै प्रकारको प्रोपराएटरी सफ्टवेर हो । हामीले अत्याधिक प्रयोग गर्ने वर्ड, एक्सेल, पावरप्वाइन्ट, पेजमेकर, फोटोसप आदि पनि प्रोपराएटरी सफ्टवेर हुन् । यस्ता सफ्टवेर हामीले कम्पनीले तोकेको मूल्य तिरेर वैधानिक रूपमा खरिद गर्नुपर्छ । त्यस्तै तिनलाई अनाधिकृत रूपमा कपि गर्न पाइँदैन, साथीभाइलाई बाँड्न वा बेच्न पाइँदैन र ती सबै कुरा गर्न पाइँदैन जुन हामीले यस्ता सफ्टवेर किन्ने बेलामा मञ्जुर गरेका थियौं । यस्ता सफ्टवेरसँग सम्बन्धित सम्पूर्ण र्सत हामीले अक्षरश पालना गर्नुपर्ने हुन्छ ।
कार्यक्रममा बताइएअनुसार नेपालमा साइबर कानुन लागू गराउने निकायको लाचारीका कारण हामीमध्ये अधिकांश खुलमखुल्ला रूपमा सफ्टवेर चोरीमा संलग्न भइरहेका छौं । व्यापारिक कार्यालय, बैंक, स्कुल, कलेज मात्र नभई सरकारी निकायहरूसमेत सफ्टवेर चोरीमा संलग्न छन् । यस्ता कार्य नैतिक रूपमा खराब त हो नै कानुनले बन्देज गरेको दण्डनीय अपराधसमेत हो । तर्सथ समयमै आफूलाई नसच्याएमा भोलि हामीले ठूलो दु्र्घटना व्यहोर्नुपर्ने हुनसक्छ ।
                            सफ्टवेर चोरीबाट बच्ने दुईवटा उपाय छन् । पहिलो हो वैधानिक रूपमा सफ्टवेर खरिद गर्नु र त्यससँग सम्बन्धित सम्पूर्ण र्सत मान्नु । तर त्यसो गर्दा हामीले ठूलो रकम सफ्टवेरको लागि छुट्याउनुपर्ने हुन्छ र हाल तीस हजारको वरिपरिमा पाइने कम्प्युटरलाई लाखौं रुपैयाँ तिर्नुपर्ने हुन्छ । हाम्रोजस्तो विकासोन्मुख मुलुक जहाँका अधिकांश जनता आर्थिकरूपमा निकै कमजोर छन्, त्यहाँ यो विकल्प उचित छैन । हाम्रोजस्तो मुलुकका लागि दोस्रो वर्गमा पर्ने सफ्टवेर उचित हुन्छ जसलाई फ्रि एन्ड ओपन सोर्स अर्थात खुला सफ्टवेर भनिन्छ ।
कार्यक्रमका प्रायः सहभागीको खुला सफ्टवेरप्रति एकमत थियो । विशेषज्ञहरूका अनुसार खुला सफ्टवेरले प्रयोगकर्तालाई स्वतन्त्रता प्रदान गर्छ । यससँग प्रोपराएटरी सफ्टवेरमाझैं बन्देजकारी र्सतहरू गाँसिएका हुँदैनन् । प्रयोगकर्ताले कतिपय यस्ता सफ्टवेर । निःशुल्क रूपमा इन्टरनेटबाट डाउनलोड गर्न सक्छन्, आफूले प्रयोग गर्न सक्छन् तथा साथीहरूलाई समेत बाँड्न सक्छन् । यस्ता सफ्टवेरका प्रोग्रामिङ कोड पनि खुला हुने भएकाले सक्षम प्रयोगकर्ता स्वयंले सफ्टवेरलाई आफ्नो कार्यगत आवश्यकता अनुकूल परिस्कृत तथा परिमार्जित गर्न सक्छन् । प्राविधिक ज्ञान नभएकाहरूले समेत अन्य प्रोग्रामरको सहयोगमा यस्ता सफ्टवेरलाई आफ्नो अनुकूल बनाउन सक्छन् ।
                                            खुला सफ्टवेरपछाडिको मूल दर्शन भनेको प्रयोगकर्ताको स्वतन्त्रता सुनिश्चित गर्नु हो । आफ्नो ज्ञान र सीपको प्रयोग गरी प्रयोगकर्ताहरूलाई सेवा दिने हेतुले संसारभर रहेका सूचना- सञ्चार- प्रविधि विशेषज्ञ तथा विद्यार्थीले यस्ता सफ्टवेर निर्माण गर्ने गरेका छन् । कसैले निर्माण सुरु गरेको सफ्टवेरलाई परिमार्जन गर्ने पूर्ण स्वतन्त्रता सबैलाई हुनु यस प्रकारको सफ्टवेरको सौर्न्दर्य हो । आफ्नै किसिमको अनौठो सहकार्य र सद्भावको परम्परा यस्ता सफ्टवेरले सुरु गरेका छन् । विशेषज्ञहरूका अनुसार जति काम हामी प्रोपराएटरी सफ्टवेर प्रयोगबाट गर्र्छौं ती सारा काम खुला सफ्टवेर प्रयोग गरेर पनि गर्न सकिन्छ ।
                                             नेपालमा पनि खुला सफ्टवेरको निर्माण तथा प्रचारका लागि स्वयंसेवीहरूको एउटा संगठन विगत केही वर्षेखि कार्यरत छ । ‘फस नेपाल’ नामक सो संस्थाले मदन पुरस्कार पुस्तकालयसँग मिली खुला सफ्टवेरको प्रचारका लागि निकै महत्वपूर्ण कार्यहरू गरेको छ । संसारभर मनाइने फस डे अर्थात खुला सफ्टवेर दिवश यो संस्थाले पनि आफ्नो स्थापनाकालदेखि नै धुमधामसँग मनाउने गरेको छ । मदन पुरस्कार पुस्तकालयले निर्माण गरेको नेपाली लिनक्सलाई फसकर्मीहरू यस क्षेत्रको विशेष प्राप्तिका रूपमा मान्छन् । नेपाली भाषामै सम्पूर्ण काम गर्न सकिने भएकाले अंग्रेजी भाषा जान्ने ।मै सीमित रहेको कम्प्युटरको प्रयोग अंग्रेजी नजान्ने नेपालीहरूमा पनि विस्तार गर्न सो सफ्टवेरले मद्दत गरेको उनीहरूको धारणा छ ।
कार्यक्रमका सहभागी होटल म्यानेजमेन्टका विद्यार्थी सुरज दाहालले आफूले सो कार्यक्रमबाट खुला सफ्टवेरसम्बन्धी नौलो ज्ञान पाएको र सो ज्ञान आफ्ना साथीसँग पनि बाँडी खुला सफ्टवेर प्रयोगका लागि सबैलाई घच्घच्याउने बताए । त्यस्तै नर्सिङ पेसा अँगालेकी सपना बास्कोटाले नेपालको वर्तमान पर्रि्क्षमा खुला सफ्टवेर निर्विकल्प रहेको र सबै मिली यसको प्रयोग र प्रचारमा लाग्नुपर्ने बताइन् । नेपालमा खुला सफ्टवेरमा केन्द्रित रही तन्नेरी डटकम मासिकले आयोजना गरेको एक छलफल कार्यक्रममा अंकुर शर्मा (नेपाल इन्जिनिएरिङ कलेज), मनिन्द्र स्थापित (नेसनल कलेज अफ कम्प्युटर स्टडिज), सिर्द्धार्थ मरासिनी एवं सुरज वाग्ले (कलेज अफ अप्लाइड बिजिनेस) का साथै रेनुका, अर्चना, बिपिन, बिनोदलगायतका युवाले यस्ता सफ्टवेरको प्रयोगसँग गाँसिएको जटिलता र समाधानका उपायका बारे बृहत् छलफल गरे । प्रस्तुत छ सोही छलफलको सानो अंश ।
              अंकुरः नेपालमा खुला सफ्टवेरका बारे जे जति काम भए ती सबै सैद्धान्तिक पाटोमै केन्द्रित रहे । दार्शनिक कुराहरू बढी गरियो र ती प्रयासहरू धेरै हदसम्म सफल पनि भएका छन् । क्याब, प्राइमलगायत थुप्रै क्याम्पसमा खुला सफ्टवेर कम्युनिटी बनिसकेका छन् भने बृहस्पति विद्या सदनमा खुला प्रयोगशाला पनि स्थापना भइसकेको छ । तर, खुला सफ्टवेर प्रयोग गर्ने र गराउने कार्यमा भने हामी नराम्रोसँग चुकेका छौँ ।
सिर्द्धार्थः खुला सफ्टवेर प्रयोगगर्दा अनेकन कठिनाइको सामना गर्नुपर्छ । ‘लिनक्स अपरेटिङ सिस्टम’ चलाउने कोसिस गरे पनि मैले गरेका काम साथीहरूसँग बाँड्न सक्तिन र कलेजको प्रायः कम्पुटरमा ‘विन्डोज’ भएकाले न त मैले बनाएका प्रोजेक्ट रिपोर्ट ती कम्प्युटरमा चल्छन् । ‘कम्प्याटेबिलिटी’को विकराल समस्या खुला सफ्टवेरसँग गाँसिएको छ।
                 अंकुरः खुला सफ्टवेर भनेकै लिनक्स मात्र हो भन्ने र्सवव्यापि भ्रम हो । कम्प्याटिबिलिटीकै कुरा गर्ने हो भने पनि माइक्रोसफ्टको अफिस प्याकेजजस्तै ओपन अफिस नामक खुला सफ्टवेर उपलब्ध छ । ‘माइक्रोसफ्ट वर्ड’बाट बनाइएको ‘डट डीओसी’ फरम्याटको डकुमेन्ट ओपन अफिसले पनि ग्रहण गर्छ । ‘आइएसओ’ले डकबाहेक ‘डट ओडीपी’, ‘डट ओडीटी’लाई पनि डकुमेन्टका लागि ‘स्ट्यार्न्र्डड’ मानेको छ । तर माइक्रोसफ्टको हेपाहा प्रवृत्ति हेर्नुहोस त, उसको वर्डले ओडीपी र ओडीटी लिँदै लिँदैन । त्यस्तै फोटोको लागि ‘पीएनजी’ र ‘पीडीएफ’ स्ट्यार्न्र्डड मानिन्छन् । तर्सथ आफूले गरेको कामलाई स्ट्यार्न्र्डड फरम्याटमा ‘सेभ’ गर्‍यो भने कम्प्याटिबिलिटीको समस्या सोचेजस्तो विकराल छैन ।
                 विनोदः प्रोपराएटरी सफ्टवेरमा ‘भाइरस’को ठूलो समस्या रहन्छ । मैले मेरो कम्प्युटरमा ट्रायल भर्सनको ‘एन्टी भाइरस’ हालेको थिएँ । त्यसले कम्प्युटरलाई सुस्त बनाइदिएकाले मैले तोकिएको मूल्य तिरेर यसको पूर्ण भर्सन किनें । तर, मेरो सोचविपरीत त्यसले त कम्प्युटरलाई पहिलेभन्दा सुस्त बनाइदियो ।
            सुरजः सफ्टवेर पैसा तिरेर किन्नुस् वा त्यसलाई ‘क्र्याक’ गरेर चलाउनुस्, आखिर त्यसले गर्ने काम उही त हो नि ।
   अंकुरः खुला सफ्टवेरमा भाइरसको त्रास हुँदैन । सबैकुरा पारदर्शी हुने हुनाले यस्ता सफ्टवेरमा कहाँ के भइरहेको छ एकएक थाहा हुन्छ । वास्तवमा भाइरस बनाउने कार्यमा ठूलाठूला गिरोह लागिपरेका छन् । करोडौंमा किनबेच हुन्छ भाइरसको । कुनै रोग लागेमा त्यसको समाधानका लागि रोगले पुर्‍याएको हानीको बारेमा थाहापाउनुपर्ने हुन्छ । प्रोपराएटरी सफ्टवेरमा सबैकुरा लुकेको हुनाले भाइरसले पुर्‍याएको हानी निक्र्योल गर्न हप्तौंदेखि महिनौं लाग्न सक्छ भने खुला सफ्टवेरमा क्षणभरमै सारा कुरा थाहा हुन्छ र त्यसको समाधान पनि झट्टै निकाल्न सकिन्छ ।
                  रेनुकाः प्राविधिक ज्ञान भएकाले त यस्ता समस्याबाट छिट्टै मुक्ति पाउलान् । सामान्य प्रयोगकर्ताले चाहिँ के गर्ने नि ?
           मनिन्द्रः संसारभरका थुप्रै प्रोग्रामरहरू खुला सफ्टवेरको निर्माण तथा परिस्कारमा लागिपरेका छन । लिनक्सजस्ता खुला अपरेटिङ सिस्टमका मूल तत्व ‘कर्नेल’ महिनैपिछे अध्यावधिक गरिन्छ भने हप्तैपिछे ‘सेक्युरिटी प्याच’ प्रकाशित गरिन्छ ।
अर्चनाः तर लिनक्सजस्ता खुला सफ्टवेर अत्यन्तै जटिल भएकाले प्रयोग गर्न मुस्किल हुने कुरा त जगजाहेर छ । प्राविधिकले त प्रयोग गर्लान् तर यो समस्या रहुन्जेल सामान्य प्रयोगकर्तामाझ यस्ता सफ्टवेर लोकप्रिय हुनै सक्तैन ।
                                        अंकुरः तपाईंले औंल्याउनु भएको समस्या केही हदसम्म जायज हो । संसारभरका ‘र्सभर’ कम्प्युटरमा खुला सफ्टवेर अत्याधिक लोकप्रिय भए पनि सामान्य प्रयोगकर्ताको हकमा भने केही समय अघिसम्म यस्ता सफ्टवेर वास्तवमै जटिल थिए । पहिलेपहिले कालो स्त्रिनमा कमान्डहरू टाइप गरेर यस्ता सफ्टवेर परिचालन गरिन्थ्यो । तर अहिले स्थिति बदलिइसकेको छ । ‘उबुन्टु’ (अफ्रिकी शब्द जसको अर्थ ‘मानवताका लागि’ हो) जस्ता खुला अपरेटिङ सिस्टम सामान्य प्रयोगकर्तालाई नै लक्षित गरेर निर्माण गरिएका हुन् । यिनीहरू ‘ग्राफिकल’ हिसाबले अत्यन्तै ‘रिच’ छन् । आफ्नै इच्छाअनुरूप ‘कस्टमाइज’ गर्न सकिने भएकाले ‘विन्डोज’को तुलनामा यिनी । प्रयोगका हिसाबले निकै नै सरल तथा आकर्ष छन् । त्यति हुँदाहुँदै पनि खुला सफ्टवेर केही हदसम्म प्रविधिक हिसाबमा जटिल नै हुन्छन् । स्वयं प्राविधिकहरू पनि खुला सफ्टवेरसँग अभ्यस्त छैनन् । यो समस्याको समाधानका लागि प्रयोगकर्ताले आफ्नो ज्ञान तथा सीप तिखार्नुपर्ने हुन्छ । फस नेपाल, दियालो इन्टरप्राइजेज, फस ल्याब आदि संस्था वा समूहको सहयोगले आफ्नो क्षमतालाई अभिबृद्धि गर्न सकिन्छ । त्यस्तै फस नेपालको इमेल समूहमा आफ्ना समस्या लेखी पठाएमा बढीमा २४ घण्टाभित्र समूहका सदस्यहरूले तपाईंको इमेलमा त्यसको समाधान पठाइसकेका हुनेछन ।
                                     विपिनः निःशुल्क रूपमा प्रयोग गर्न तथा बाँढ्न पाइने यस्ता ‘फ्रि’ सफ्टवेरको निर्माणचाहिँ कसरी हुन्छ त ?
             मनिन्द्रः पहिलो कुरा त फ्रि भन्ने शब्द निःशुल्क होइन, फ्रिडम अर्थात स्वतन्त्रतासँग जोडिएको छ । तपाईंलाई आफ्नो निश्चित कामको लागि नयाँ सफ्टवेर बनाउनु परेको छ भने तपाईंले प्रोग्रमरलाई उसको मिहिनेतको पारिश्रमिक दिएर उसलाई सो सफ्टवेर निर्माण गर्न लगाउनु हुन्छ । पहिल्यै बनिसकेको सफ्टवेरलाई आफ्नो आवश्यकता अनुरूप परिमार्जन गर्नु पर्‍यो भने पनि तपाईंले प्रोग्रामरको सहयोग लिएमा उसको परिश्रमको मोल त तिर्नै पर्छ । तपाईंलाई स्वतन्त्रता चाहीँ पक्कै प्रदान गरिन्छ । सफ्टवेरको सम्पूर्ण ‘कोड’ तपाईंलाई प्रदान गरिन्छ । भोलि तपाईंलाई सफ्टवेरमा नयाँ परिवर्तन गर्नुपर्यो भने पुरानै प्रोग्रामर या कम्पनीमा धाउनु पर्ने बाध्यता रहँदैन । सम्पूर्ण कोड तपाईंसँग भएकाले कुनै पनि सक्षम प्रोग्रामरको सहयोगमा तपाईं आफ्नो आवस्यकता पूर्ति गर्नसक्नु हुनेछ ।
                                 विपिनः तर मैले मेरो संस्थाको लागि किनेको सफ्टवेरमा सानो भन्दा सानो समस्या आयो भने पनि सफ्टवेर निर्माता कम्पनीलाई नै गुहार्नु पर्ने भइराखेको छ । हाल मेरै कम्पनीमा प्राविधिकरूपमा सक्षम जनशक्ति कार्यरत छन । तर ‘इएक्सी’ फाइल मात्र उपलब्ध गराइएका कारण उनीहरूले सफ्टवेरलाई परिमार्जन गर्नु त परै जाओस् त्यहाँ देखिएको सानो समस्या पनि हल गर्न सक्तैनन् । खुला सफ्टवेरको अवधारणा त राम्रो रहेछ । यदी प्रोग्रामरहरूले यस्तै सफ्टवेर बनाइदिने हो भने त हामी जस्तालाई निकै सजिलो हुन्थ्यो ।
                        अंकुरः तपाईंको कुरा ठीक हा । तर अघिनै भनिसकियो प्राविधिकहरू पनि खुला सफ्टवेरको अवधारणासँग अभ्यस्त छैनन् । त्यसैले तपाईं जस्ता                प्रयोगकर्ताले नै खुला सफ्टवेर माग गर्नु भयो भने उनीहरू आफ्नो ज्ञान तिखार्न बाध्य हुनेछन् र हाल तपाईंले भोग्नु परेको जस्तो समस्या कसैले पनि भोग्नु पर्ने थिएन ।
                         सिर्द्धार्थः खुला अपरेटिङ सिस्टमको अर्को एउटा खराबी छ । यसले सबै किसिमका हार्डवेर ‘सपोर्ट’ गर्दैन ।
         अंकुरः प्रख्यात अमेरिकी संस्था ‘नासा’को रकेट प्रक्षेपण कार्यका लागि प्रयोग हुने कम्प्युटरमा ‘युनिक्स’ तथा ‘लिनक्स’ जस्ता खुला अपरेटिङ सिस्टमको प्रयोग हुन्छ । अब आफैँ भन्नुहोस् के यसमा खराबी होला त ? प्रचलनमा रहेका हार्डवेरहरू प्रायः सबै खुला अपरेटिङ सिस्टमले सहजै सपोर्ट गर्छ । हो, यससँग सम्बन्धित एउटा समस्या चाहीँ छ । प्रायः कम्पनीले विन्डोजको लागि चाहीँ आफैँले ‘ड्राइभर’ सफ्टवेर बनाइदिए पनि खुला अपरेटिङ सिस्टमको लागि भने उनीहरू ‘ड्राइभर’ निस्कासन गर्दैनन् र खुला सफ्टवेरकर्मीहरूको भर पर्छन् । त्यसैले असाध्यै नयाँ र पृथक हार्डवेर छ भने छुट्टै कुरा हो अन्यथा ‘सपोर्ट’को त्यति ठूलो समस्या छैन । मैले आफैँ पनि पूर्ण रूपमा खुला सफ्टवेर चलाउन थालेको रुण्डै दुई वर्षभइसक्यो । आजसम्म अपरेटिङ सिस्टमले सपोर्ट नगरेका कारण मैले कुनै हार्डवेर चलाउनबाट बन्चित हुनुपरेको छैन ।
              सुरजः हाम्रो पाठ्यक्रममा किटान गरेरै कतिपय प्रोपराएटरी सफ्टवेरहरू अध्ययन तथा अध्यापनकालागि निर्दिष्ट गरिएका छन् । खुला सफ्टवेरको भने कतै पनि उल्लेख गरिएको छैन । यस्तो अवस्था रहुन्जेल कसरी खुला सफ्टवेरको प्रयोगमा व्यापकता ल्याउन सकिन्छ र ?
                मनिन्द्रः आजको मितिमा खुला सफ्टवेरको प्रयोगलाई खुम्चयाउने यो सबैभन्दा ठूलो समस्या हो । हामीलाई विद्यालय स्तर देखि नै विन्डोज र अफिस प्याकेज जस्ता प्रोपराएटरी सफ्टवेर चलाउन अभ्रि्रेरित गरिन्छ । जब प्रयोगकर्ताले कुनै एक प्रकारको सफ्टवेर प्रयोग गर्न सिक्छ, ऊ त्यसमै सीमित हुन पुग्छ । प्राविधिक शब्दमा यसलाई ‘लक इन’ भनिन्छ । जब एउटा कम्पनीले आफ्ना स्टाफलाई एउटा सफ्टवेर प्रयोग गर्ने तालिम दिन्छ, सो कम्पनी त्यही सफ्टवेरमा लक हुन्छ । भोलि खुला सफ्टवेरमा जान खोज्यो भने उसले आफ्ना स्टाफलाई फेरि नयाँ तालिम दिनुपर्ने हुन्छ । त्यसैले खुला सफ्टवेरको प्रयोगलाई वास्तवमै विस्तार गर्नेको भने विद्यालयस्तर देखिकै कम्प्युटर पाठ्यक्रममा आमुल परिवर्तन गर्नुपर्छ ।
                   अंकुरः साझै खुला सफ्टवेरमा जान गाह्रो भए बिस्तारै त्यता ‘माइग्रेट’ गर्न सकिन्छ । तपाईं आफ्नो कम्प्युटरमा एक भन्दा बढी अपरेटिङ सिस्टम राख्न सक्नु हुन्छ जसलाई ‘ड्युएल बुटिङ’ भनिन्छ । विन्डोज र लिनक्स दुवै इन्सटल गरिएको त्यस्तो कम्प्युटरबाट मनलागेको बेला विन्डोज या लिनक्स जे पनि चलाउन सकिन्छ । आफैँले प्रयोग नगरी केही कुराको पनि महत्व थाहापाउन सकिँदैन । खुला सफ्टवेर प्रति कुनै प्रकारको अन्योल वा डर छ भने तपाईंले यो विकल्प रोज्न सक्नुहुन्छ । राम्रो लागे खुला सफ्टवेर चलाउनुस्, नलागे तपाईंको पुरानै सिस्टम छँदैछ । तपाईंलाई कुनै किसिमको बन्धन हुने छैन । आखिर खुला सफ्टवेरको उद्देश्य नै प्रयोगकर्तालाई वास्तविकरूपमा स्वतन्त्र बनाउनु हो ।
                         सबैः खुला सफ्टवेरको प्रयोग सम्भव छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: