आगो ताप्नु मुढाको…

manoj gajurel
‘आगो ताप्नु मुढाको-कुरा सुन्नु बुढाको’ भन्ने उखानमा बुढाहरुको ठूलो षडयन्त्र लुकेको छ । बुढाका कुरा र मुढाको आगो ज्यादै खत्तरनाक हुँदा रहेछन् । तिनका केही कुरा उत्तम भएपनि अधिकांस बिचारहरु खत्तम छन्, नपत्याए ‘घाँटी हेरी हाड निल्नु’ भन्ने बुढाहरुको भनाईलाई नै लिनोस् । कुकुरले त हाड (हड्डी) निल्दैन भने हामीलाई हाड निल्न सुझाव दिनुको तात्पर्य के हो ? यो भनाईका पछाडी दुईवटा डरलाग्दा योजना हुन सक्छन् । पहिलो, हड्डी निल्न लगाएर घाँटीमा अड्काइ अड्काई युवाहरु सिध्याउने चाहान्थे, दोश्रो हड्डी देखाएर युवा र कुकुर एउटै हुन् भन्ने प्रमाणित गर्ने चाहान्थे । तर, हाम्रो सौभाग्य बुढाहरुको यो ग्राइन्ड डिजाइनमा तन्नेरीहरु फसेनौं र अहिलेसम्म ज्यूदैं छौं । नत्र, हड्डी निल्नेक्रममा सबै युवाहरु यमराजको पाहुना भैसक्ने थिए । यसबाट प्रष्टहरु हुन्छ-बुढाका कुरा घोर युवा बिरोधी छन् ।

‘उहिलेका कुरा खुइले’-यो त्यसै भनेको हैन हामीले । उहिलेका कतिपय कुराहरु त खुइलेमात्र हैन, ओइलिए, र झरिपनि सके । ‘ढिलै होस्-छोरै होस्’ भन्ने बुढोवाणीलाई नै लिनोस् , यसले छोरीहरु बिरुद्ध बिष बमनमात्र गरेको छैन, छोरी पाउने आमालाई ‘स्लो पोइजन’पनि पिलाएको छ । ‘ढिलै होस्-छोरै होस्’ भन्नुको मतलब के हो, भन्नोस् त । बरु नौ महिनाको साटो अठ्ठार महिना नै गर्भ बोकोस,् तर छोरीचाहीं जन्माउँदै नजन्माओस् भन्न खोजेको हैन त ! डाक्टरले दिएको समयमा महिला सुत्केरी नहुँदा टेन्सन हुनुपर्नेमा छोराकालागी ‘ढिलै भएपनि फरक पर्दैन’ भन्नुको अर्थ ‘छोरा पाउँदिन भने मरेपनि फरक पर्दैन’ भन्न खोजेको हैन त ! यसलेपनि के प्रष्ट पार्दछ भने-यदी हामील्ो बुढाका कुरा सुनेकाभरमा चलेका भए अहिलेसम्म करोडौं आमाहरु टायममा सुत्केरी हुन नपाएर अहिलेको संसार बाबु नै बाबुको मात्र हुने थियो । यसबाट पनि प्रष्ट हुन्न-बुढाहरुका कुरा घनघोर महिला बिरोधी छन् ।

उखानलाई ‘बुढाहरुको बिचार’ भन्यो भनेर कतिपय पाठकलाई जङ्ग पनि चल्यो होला । हेर्नोस्, उखान भनेकै कसैको मुखानबाट शुरु हुने हो , कसैको चित्त दुखानको बिषय नै होइन यो । ‘बाह्र छोरा तेह्र नाती-बुढाको धोक्रो काँधैमाथी’-यही उखानको भावना बुझ्नोस् । यति धेरै सन्तानलाई बाबुले पाल्न नसकेपछि सन्तान लाखापाखा लाग्ने नै भए । कि त थोरै छोरा जन्माउनु पर्दथ्यो, कित पाल्न सक्ने सम्पति हुन पर्दथ्यो । आफु पाल्न पनि नसक्ने, गरी खाएको पनि नसहने ! बुढाहरुको यो कुराले के प्रष्ट पार्दछ भने बुढाहरु अघ्घोर आत्मनिर्भरता बिरोधी छन् ।

‘राजाको काम छोडी कामीको बिहे ।’ बुढाको यस कुरालाई गहिरिएर हेर्नोस्, यिनिहरु कति सामान्ती सोचबाट ग्रसीत रहेछन् । पहिलो कुरा, ‘कामी’ र ‘राजा’लाई ईश्वर र मान्छेका रुपमा बिभाजित गरेकाछन् भने, दोश्रो राजाको कामलाई धार्मिक कार्य र कामीको बिहेलाई ‘झारपात’को संज्ञा दिएकाछन् । राजाको काम भनेको के हो त ? हामीले इतिहासमा पढेका छौं, हाम्रा राजाहरुले केही बाहेक धेरै काम यस्ता गरेकाछन् जसलाई काम नभनेर कुकार्य भन्नु उपयुक्त हुन्छ । जनतालाई घोडाका खुट्टामा बाँधेर घिसार्ने, पजेरोले कुल्चने, आफ्नै बंशको सत्यानास गर्ने, लोकतन्त्र खानेजस्ता राजाका कामलाई महान ठान्ने र बिहेजस्तो शुभकार्यलाई सामान्य ठान्ने बुढाहरु जातिभेदका पक्षधरमात्र हैनन्, कट्टर राजवादीपनि हुन् । मलाई त यस्तो पनि लाग्छ कि मुलुक अघि नबढ्नुमा राजनैतिक नेताको भन्दा बुढाहरुको ठूलो हात रहेको छ ।

म उहिल्यैदेखि भन्दै आएको छु-बुढाका कुरा र मुढाको आगोले यथास्थितिबादको पक्षपोषण गर्दछ । जमाना भुङ्ग्रो, हिटरहुँदै एयरकण्डिसनमा पुगिसक्यो-अझैपनि मुढाको आगोमा अल्भिmन सिकाउने कुरा कति अबैज्ञानिक छ, आफैं बुझ्नोस् । रेडियो, टिभी, एमपि थ्री, आइपोड सुनेर बिज्ञानसंगै दौडनु पर्ने समयमा बुढाको कुरोको पछि लागेर पुगिने ठाउँ भनेको आर्यघाटमात्रै हो । ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने बुढाहरुको आर्शिवादमा डरलाग्दो यथास्थितिवाद हो । संसार साँघुरिदै छ, थोरै सन्तान जन्माए जिबन सफल र शान्तीपूर्ण हुने निश्चित हुँदाहुँदै सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने कुरा कहाँसम्मको बिज्ञान बिरोधी र यथास्थितिबादी हो, आगे तपाईं आफैं खुटयाउनोस् ।

बुढाहरुको कुरा सुनेर त्यही अनुसार हामी हिडेको भए अहिलेसम्म हामी सबै लाटा हुने थियौं । उनिहरुको कुरो छ-‘बस्न पाएँ भनेर थ्याच्च नबस्नु, बोल्न पाएँ भनेर प्याच्च नबोल्नु ।’ यसको तात्पर्य हो-तिमीहरुले हाम्रो कुरो सुुन्नेमात्रै हो, बोल्ने हैन । एकजना मित्रले रिसाउँदै भन्नु भयो-‘तपाईंको यस तर्कसँग सहमत छैन । बुढाहरुले त सोचेरमात्रै बोल्नु भन्न पो खोजेका हुन् त ।’ तर म यो तर्कसँग बिल्कुल सहमत छैन । किनभने बुढाहरु छोराछोरीहरु बाठा होउन्, जानेको कुरा सिकाउन्, नजानेको कुरो सिकुन् भन्ने नै चाहादैनन् । ठुलामान्छे बोलेका ठाँउमा कोही सानो मान्छे बोल्यो भने भन्छन्-‘केटाकेटी भएर ठूलामान्छेका अगाडी प्याच्च बोल्ने हो !’ यसले पुष्टि गर्दछ, बुढाहरुका कुरा नयाँ शिक्षाको बिरोधी छन् ।

उहिलेका बुढाका कुरा छोडौं-अहिलेकै बुढाहरु पनि अग्रगमन बिरोधी छन् । गगन थापाले भने-‘गणतन्त्र ।’, गिरिजाले भने-‘बेबी किङ्गतन्त्र ।’ अहिले बल्ल आएर गिरिजा सहमत भएकाछन्-‘ए हो त, गणतन्त्र नै पो रहेछ ।’ अब बुढाका जमाना गए, युवाका जमाना आए । अब बुढाको कुरो सुन्ने हैन, ठिटाको कुरो सुन्ने जमाना हो । बुढाका पछाडी कुद्ने हैन, बुढाहरुलाई ठिटाका पछाडी लगाउने जमाना हो । उहिलेका कुरा खुइलिए-अहिलेका कुरा मौलाए । त्यसैले सबैजना एकैस्वरले भनौं-‘ आगो ताप्नु मुढाको, कुरो सुन्नु बुढाको-काम गर्नु ठिटाको । कि कसो ??

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: