नेपाललाई प्रधानमन्त्री बनाउँछौँ : एमाले, काङ्ग्रेस\ बनाउन दिन्नौँ : माओवादी

                                   नेकपा एमालेका सचिव शंकर पोखरेलले माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ। रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उहाँले नेपालको पक्षमा बहुमत पुगिसकेकाले यसै हप्ता सरकार गठन हुने बताउनुभयो।  ‘एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा बहुमत प्राप्त भइसकेको छ,’ पोखरेलले भन्नुभयो, ‘माधव नेपाललाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन।’ नेपालको पक्षमा ३०६ सभासद रहेको उहाँको दाबी थियो। नेकपा एमाले, नेपाली कांग्रेस, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीको हस्ताक्षर प्राप्त भइसकेको र अन्य दलको पनि हस्ताक्षर आउने दाबी गर्नुभयो। नेमकिपा, नेकपा संयुक्त र राप्रपा नेपालबाट पनि मौखिक प्रतिवद्धता प्राप्त भएबाट सरकार यसै हप्ता बन्ने बताउनुभयो। शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निभाएकाले माधव नेपाल प्रधानमन्त्रीका उपयुक्त उम्मेदवार भएको उहाँको तर्क थियो।  
एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य टोपबहादुर रायमाझीले माधवकुमार नेपाल प्रधानमन्त्री बन्नै नसक्ने जिकिर गर्नुभयो। नेपाल संविधानसभामा दुई स्थानबाट पराजित भएको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाल प्रधानमन्त्री बन्नु भनेको देशमाथि नै मजाक हुनु हो, उनले कम्युनिस्ट नामलाई नै बदनाम बनाउँदैछन्।’  
                                                 माधव नेपाल प्रधानमन्त्री भएमा इतिहासकै कलंकित प्रधानमन्त्रीका रुपमा चित्रित हुने तर्क गर्नुभयो। नेपालको पक्षमा बहुमत नहुने दाबी गर्दै आफूहरुकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभयो। राष्ट्रिय सहमतिको सरकार गठनका लागि बरु आफूहरु फोरम अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्रीमा समर्थन गर्न तयार भएको बताउनुभयो। नेपालको साटो सीपी मैनाली, गणेश शाह जस्ता नेताहरु प्रधानमन्त्री भएमा मान्य हुने बताउनुभयो। यादवले दुई स्थानबाट चुनाव जितेको उल्लेख गर्दै उहाँलाई समर्थन गर्ने बताउनुभयो। राष्टि्र्य सहमतिको सरकार गठनका लागि राष्ट्रपतिको कदम सच्चिनुपर्ने आफूहरुको सर्त रहेको बताउनुभयो। भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै त्यसविरुद्ध सशक्त रुपमा उभिने समेत बताउनुभयो।  
                                                नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने ठोकुवा गर्नुभयो। नेपाल प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्दै भन्दै उहाँकै नेतृत्वको सरकारले संविधान निर्माण गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने बताउनुभयो। शान्ति प्रक्रियामा नेपालको भूमिकालाई नदरअन्दाज गर्नु गम्भीर गल्ती हुने उहाँको तर्क थियो। फोरम अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री बन्ने अवस्था नरहेको जिकिर गर्नुभयो। माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीका प्रस्ताव राखे पनि अस्वीकार गरेको बताउनुभयो।  
                                    तराई मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता जीतेन्द्र सोनलले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने निश्चित भएको बताउनुभयो। मधेसवादी दलहरु एमालेलाई समर्थन गर्ने निर्णयमा पुगेको र फोरम पनि सोही निर्णयमा आउने बताउनुभयो। उपेन्द्र यादव प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताउनुभयो।  
नेकपा मालेका अध्यक्ष सीपी मैनालीले माधव नेपाललाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभयो। नेपालको पक्षमा बहुमत पुर्‍याएर देखाइदिने बताउनुभयो। माओवादीका कारण मुलुक यो अवस्थामा पुगेकाले उसले सरकारको नेतृत्व गर्न नपाउने उनको भनाइ थियो। माओवादीसमेत सरकारमा सहभागी हुनुपर्ने उहाँको भनाइ थियो।   
                                                  नेकपा संयुक्तका नेतासमेत रहेका वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले आफ्नो दल राष्ट्रिय सहमतिको सरकार गठनको पक्षमा रहेको बताउनुभयो। आफूहरु कसलाई समर्थन गर्ने भन्ने पक्षमा नरहेको बताउँदै भन्नुभयो, ‘हामी माओवादीसहितको राष्ट्रिय सहमतिको सरकारको पक्षमा छौं।’ साझा सहमतिबाट अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो। सरकार गठन हुँदा आफूहरु कुनै न कुनै पक्षमा रहने बताउनुभयो। माओवादीसहितको राष्ट्रिय सरकारको नेतृत्व जसले गरे पनि हुने बताउनुभयो। राष्ट्रपतिको कदम असवंवैधानिक भएको भन्दै सच्चाउनुपर्ने बताउनुभयो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: