माओवादीद्वारा मधेशी फोरम नेतृत्वको सरकारलाई समर्थन गर्ने

एकीकृत नेकपा माओवादीले संसदको चौथो ठूलो दल मधेशी जनअधिकार फोरमको नेतृत्वमा गठन गरिने सरकारलाई आफ्नो पूर्ण समर्थन रहने जनाएको छ।

सबैभन्दा ठूलो दलको समर्थनको आश्वासन पाएपछि फोरमले आफ्नै नेतृत्वको सरकार बनाउने कुरालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ।

फोरमको यो निर्णयले आफ्नो वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा बहुमतको सरकार बनाउन तीव्र कसरत गरिरहेको तेस्रो ठूलो दल नेकपा एमालेलाई गम्भीर धक्का लाग्ने देखिन्छ।

कुल सदस्य संख्या ६०१ रहेको संसदमा जम्मा ५३ सीट भएको फोरमलाई पछिल्लो निर्णय लिन २३८ सीट भएको माओवादीले प्रेरित गरेको थियो।

फोरमले सरकार गठन गरेमा पूर्ण समर्थन गर्ने नीतिगत निर्णय माओवादीको पोलिटब्यूरोले गरिसकेको वरिष्ठ नेता सीपी गजुरेलले बताए।

हामीले फोरमका नेताहरुलाई सरकार गठन गर्न पहल गर्नुस् बाहिरबाट हामी समर्थन गर्न तयार छौं भनेका छौं, उनले भने।

गजुरेलका अनुसार फोरम र माओवादी दुईवटा दलकै २९१ सीट पुग्ने हुनाले बहुमतको लागि आवश्यक बाँकी १० सीट जुटाउन गाह्रो पर्दैन।

यसअघि बिहीवारदेखि शुक्रवार बिहानसम्म चलेको फोरमको केन्द्रिय समितिको बैठकले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो।

सरकार निर्माणबारे फोरमले मुख्य दुईवटा निर्णय गरेको प्रवक्ता जितेन्द्र देवले बताए।

उनले भने, हाम्रै नेतृत्वमा राष्ट्रिय सरकार बनाएर राजनीतिक निकास दिने निर्णय गरेका छौं। यदि त्यो हुन सकेन भने एमालेले आठ बुँदे सम्झौता लागु गर्न लिखित प्रतिबद्धता दिएको खण्डमा उसको नेतृत्वको सरकारलाई हामी बाहिरबाटै समर्थन गर्न सक्छौं, देवले भने।

हात हालाहाल

तर सो निर्णयकै बारे छलफल गर्न शुक्रवार साँझ बसेको फोरमको संसदीय दलको बैठकमा सदस्यहरु बीच हात हालाहाल भएपछि बैठक शनिवारसम्मको लागि स्थगित गरीएको छ।

उक्त विवाद सामान्य भएको र आफै सरकार बनाउने कुरामा फोरमभित्र मतभेद नभएको नेता शरतसिंह भण्डारीले बताएका छन्।

आफै सरकार बनाउने कुरामा कुनै विवाद छैन। तर आफै सरकार बनाउने कुराको आधारहरु प्रष्ट्याउन सांसदहरुले नेताहरुसंग आग्रह गरेका छन्, भण्डारीले भने।

फोरम र माओवादीबीच उदाउँदै गरेको नयाँ गठबन्धनले एमाले र नेपाली कांग्रेसबीचको गठबन्धनलाई कडा चुनौती प्रस्तुत गर्ने देखिए पछि नयाँ सरकार बनाउने कसरतले नयाँ मोड लिएको कतिपय विश्लेषकहरुको धारणा छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: