प्रधानसेनापति हटाउने निर्णय संविधान विपरीत भन्दै कार्यान्वयन नगर्न आग्रह

राष्ट्रपति डा.रामबरण यादवले प्रधानसेनापति रुक्माङगद कटवाललाई हटाउने सरकारको निर्णय संविधान विपरीत भएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न सरकारलाई आग्रह गरेका छन्।
राष्ट्राध्यक्ष र नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपतिले प्रधानमन्त्रीलाई पत्र पठाई त्यस्तो आग्रह गरेका हुन्।

मन्त्रिपरिषदको बैठकले आइतवार मध्यान्ह प्रधानसेनापति रुक्माङगद कटवाललाई पदबाट हटाए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यो जानकारी राष्ट्रपतिलाई दिएका थिए।

सरकारको औपचारिक पत्र दुई बजे राष्ट्रपति कार्यालयले पाएको थियो।

त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई चारबजे असन्तुष्टीयुक्त पत्र पठाएका हुन्।

संविधान विपरीत

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, सेनाका परामाधिपति समेत रहेका राष्ट्रपतिसंग स्वीकृति नलिई र जानकारी नै नदिई जुन किसिमले निर्णय भयो, त्यो संविधानको मर्म विपरीत छ। त्यसकारण उक्त निर्णय सहमति नजुटाई कार्यान्वयन नगर्नु होला। सहमतिकै बाटोमै अगाडी बढ्नु होला भन्ने पत्रमा लेखिएको छ।

करिव दुई साता अघि सेनापतिलाई स्पष्टीकरण सोधे पछि प्रधानमन्त्रीले आफूसंग गरेको चारवटा छलफलमा आफूले राजनीतिक सहमति अनुसार अघि बढ्न भनेको र प्रधामन्त्रीले त्यसै अनुसार गर्ने बताएको कुरा पनि राष्ट्रपतिले पत्रमा स्मरण गराएका छन्।

उत्पन्न परिस्थितिका बारे राष्ट्रपति विभिन्न छलफलमा व्यस्त देखिएका छन्।

ती भेटघाटहरु राष्ट्रपतिको तर्फबाट नभई घट्नाक्रमबारे चासो र चिन्ता व्यक्त गर्न विभिन्न क्षेत्रका प्रतिनिधिहरुले राष्ट्रपतिलाई भेटेको सल्लाहकार दाहालको भनाई छ।

उनी भन्छन्, भोली कसरी अगाडी बढ्नु पर्छ। सरकारसंग कसरी सम्वाद अगाडी बढाउनु पर्छ भन्ने लगायतका कुरा छलफल पछि तय हुने कुरा हुन्। अहिले कुनै विषयको तयारीको लागि भेटघाट र छलफल भइरहेको होइन।

जंगी अड्डामा अन्यौल

सरकारले निम्त्याएको चर्को राजनीतिक विभाजनले सैनिक जंगी अड्डामा पनि दिनभरी जसो अन्यौल थियो।

सरकारले कार्यवाहक प्रधानसेनापति बनाएको पत्र बुझेर रथी कुलबहादुर खड्का आन्तरिक परामर्शमा व्यस्त रहे।

अवकास पत्र दिइएका प्रधानसेनापति कटवाल पनि कार्यकक्षमै थिए। बुझ-बुझारथ पनि गरिएको छैन।

त्यसैले सैनिक मुख्यालयले रथी खड्काले कार्यभार सम्हाले-नसम्हालेको औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

सेनाका परमाधिपति समेत रहेका राष्ट्रपतिले सरकारको निर्णयलाई मान्यता नदिए पछि उनी र सरकारद्वारा बनाइएका कार्यवाहक प्रधानसेनापति बीच नैं समन्वयको संकट देखिने परिस्थिति उत्पन्न भएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: