आज विश्व मजदुर दिवस मनाइँदै

१ सय २० औं अन्तर्राष्ट्रिय मजदुर दिवस शुक्रबार मजदुर संगठनहरुले विभिन्न कार्यक्रमका साथ मनाउँदै छन्।  रुपान्तरणका लागि एकता नाराका साथ मनाउन लागिएको छ। यस बर्षको मजदुर दिवस संघर्षपछि मजदुरहरुले हक अधिकार पाएको सम्झनामा हरेक बर्ष झै मे १ का दिन मनाइदै छ।  
यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसय बीसौँ अन्तरराष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै श्रमिकहरूले सङ्गठितरूपमा अजय शक्ति प्रदर्शन गरी आफ्नो अधिकार स्थापित गरेको यस महान् ऐतिहासिक दिनका अवसरमा नेपाल र विश्वभरका तमाम श्रमजीवी दिदीबहिनी तथा दाजुभाइलाई न्यानो अभिवादन व्यक्त गर्नुभएको छ। 
श्रमजीवी जनताको जीवनस्तर माथि उठाउन वर्तमान सरकार सम्पूर्ण श्रमजीवी वर्गसँग ऐक्यबद्धता जाहेर गर्न र सहकार्य गर्न तयार छ भन्दै उहाँले आजको दिनले श्रमजीवीलाई आफ्ना अधिकारको सुनिश्चितता तथा श्रमको न्यायोचित मूल्य पाउने हकको स्थापनाका लागि सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ। 
प्रधानमन्त्री दाहालले सन्देशमा भन्नुएको छ–’श्रमजीवीको श्रम र सीपले विश्व सिँचिएको छ, आज हामीले जे जति भौतिक सुख र सुविधाको उपभोग गरिरहेका छौँ र आफ्नो जीविकोपार्जनका लागि जे जति कुरामा भर पर्दछौँ ती सबैका सर्जक मजदुर नै हुन्।’ 
महान् जनयुद्ध र नेपालको गणतान्त्रिक सबै आन्दोलनमा मजदुर/श्रमिक वर्गको सबैभन्दा ठूलो योगदान छ, विश्व सूचना प्रविधिको युग, अन्तरिक्षको युग, आधुनिक युगजस्ता विभिन्न विशेषणले चिनाइरहँदा अझै पनि विश्वका करोडौँ मजदुर न्यूनतम ज्यालाका लागि लड्नुपरेको छ–उहाँले सन्देशमा भन्नुभएको छ। 
अझै पनि करोडौँ मेहनतकस जनता न्यूनतम मानवोचित जीवन धान्न पुग्नेसम्मको श्रमको मूल्य नपाई कष्टकर जीवन जिउन बाध्य भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सन्देशमा भन्नुभएको छ–ती मजदुरको जीवनस्तर नउठाउँदासम्म समतामूलक समाज र सुखी मानवजीवनको कल्पना गर्नसकिँदैन।  
 
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले ‘संसारभरिका मजदुरहरू एक हौँ’ भन्ने उद्घोषका साथ कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशित भएपछि सर्वहारा वर्गीय चेतनाको फलस्वरूप सुरु भएको मजदुर आन्दोलनले निश्चित सफलता प्राप्त गरेको मे दिवसका अवसरमा समस्त मजदुरप्रति हार्दिक अभिवादन व्यक्त गर्नुभएको छ। 
अध्यक्ष खनालले मे दिवसका उपलक्ष्यमा आज दिनुभएको सन्देशमा भनिएको छ–नेपाली मजदुरले राजनीतिक अधिकार प्राप्त गरेपनि अपेक्षाकृत आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्नसकेका छैनन्। 
पुँजीको यथोचित विकास नहुँदा मजदुरले प्राप्त गर्ने न्यूनतम ज्याला र अन्य सुविधासमेत प्राप्त गर्ननसकेको स्थिति विद्यमान रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। 
अध्यक्ष खनालले सन्देशमा भन्नुभयो–जसले देशको निर्माण गर्दछ, उसैको यस्तो दयनीय अवस्था रहनु देशको कहालिलाग्दो अवस्थाको एक झलक हो, यस्तो कहालिलाग्दो अवस्थाबाट मुक्ति पाउन सामूहिक प्रयासबाट नयाँ नेपालको निर्माण गर्नुबाहेक हामीसँग अरू कुनै विकल्प बाँकी छैन, एकीकृत मजदुर आन्दोलनबाट मात्र नयाँ नेपाल निर्माण हुनुका साथै मजदुर वर्गले आफ्नो हक, हित र उन्नति प्राप्त गर्नसक्नेछ। 
मे दिवसले मजदुरको उन्नति, प्रगति र सामूहिक सौदाबाजीबाट थप सफलता प्राप्त गर्न प्रेरणा दिने शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ। 
यसैगरी श्रम तथा यातायात व्यवस्थामन्त्री लेखराज भट्टले श्रमिक दिवसका अवसरमा विश्वभरका श्रमिक वर्गसँग एकाकार हुँदै सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्नुभएको छ। 
श्रमिक वर्गको भूमिकाको उच्च मूल्याङ्कन गर्दै आजको १२०औँ मे दिवसबाट नेपाली समाजलाई अग्रगामी रूपान्तरण गर्ने अभियानमा उत्प्रेरित गर्ने सन्देश मिलोस् भन्ने शुभेच्छा उहाँले व्यक्त गर्नुभएको छ।  
जननिर्वाचित गणतान्त्रिक सरकारले श्रमिकहरूको आधारभूत हकअधिकारका लागि त्रिपक्षीय समझादारीमा राष्ट्रिय श्रम कानुन र नीतिमा समसामयिक सुधार गर्ने, ट्रेड युनियन हकअधिकारको संरक्षण र सम्वर्द्धन गर्ने, आन्तरिक तथा वैदेशिक रोजगारीको प्रवर्द्धन गर्ने, रोजगार सूचना केन्द्रहरू स्थापना गर्ने, न्यूनतम ज्यालामा बढोत्तरी गर्दै जाने कार्य गरिआएको छ भन्दै मन्त्री भटृले श्रमिकको हकहित संरक्षणका क्षेत्रमा सरकारको प्रयासमा सबैको सक्रिय सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ। 
श्रमिकको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन गर्नुपर्ने थुप्रै कार्य हाम्रो सामु रहेको र सोको कार्यान्वयनमा सरकार प्रतिबद्ध छ भन्दै उहाँले मे दिवसको गौरवमय घडीमा सम्पूर्ण श्रमिकवर्गको जोस, जाँगर र उत्साहलाई सिर्जनात्मक शक्तिमा उपयोग गरी नयाँ नेपाल निर्माण गर्ने महान् अभियानमा सम्पूर्ण सार्वजनिक निकाय, श्रमिक सङ्घ, सङ्गठन, व्यवसायी, रोजगारदाता र अन्तरर्रष्ट्रिय श्रम सङ्गठनलगायत श्रमसँग सम्बद्ध सबै सरोकार पक्षको सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभएको छ। 
श्रम तथा यातायात व्यवस्था सचिव युवराज पाण्डेले मे दिवसको अवसरमा सुमधुर र मर्यादित उत्पादनमूलक श्रमका निमित्त सिर्जनशील सहयोग प्रदान गर्ने मजदुर सङ्घसङ्गठन, रोजगारदाता, सार्वजनिक निकाय तथा अन्तरराष्ट्रिय श्रम सङ्गठनलगायत सम्बद्ध सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा समेत सहकार्य र सहयोग प्राप्त हुने अपेक्षा प्रकट गर्नुभएको छ। 
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा नयाँ संविधानमा श्रमिकको सामाजिक सुरक्षा र न्यायपूर्ण पारिश्रमिकको व्यवस्था सुनिश्चित गर्न माग गर्दै नेपालले अनुमोदन गरिसकेको अन्तरराष्ट्रिय श्रम सङ्गठनद्वारा पारित बलपूर्वक श्रमसम्बन्धी, सङ्गठित हुने तथा सामूहिक सौदाबाजीस, समान पारिश्रमिक, रोजगार र पेसामा भेद्भाव अन्त्य, न्यूनतम ज्याला निर्धारण, जनजाति र आदिवासीसम्बन्धी तथा बालश्रमविरुद्धको महासन्धिको प्रावधानको पूर्ण कार्यान्वयनका साथै सङ्गठनको स्वतन्त्रता र सङ्गठित हुन पाउने अधिकारको संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय श्रम सङ्गठनको सन्धिको पक्ष राष्ट्र हुन सरकारसँग आग्रह गर्नुभएको छ। 
नेकपा (माले) ले वर्तमान अवस्थामा यो वा त्यो रूपमा उपर्युक्त युगान्तकारी परिवर्तनलाई संस्थागत गर्न विभिन्न बहाना बनाई ढिलासुस्ती र हेलचेक्र्याइँ प्रदर्शन गर्ने अग्रगमनविरोधी कित्तालाई पहिचान गर्दै एवम् परास्त गर्दै जनवाद परिलक्षित प्रगतिशील परिवर्तन गर्ने कार्यमा मुलुकका समस्त सर्वहारा मजदुरवर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ। 
मधेसी जनअधिकार फोरम नेपालले बीसौँ अन्तरराष्ट्रिय मजदुर दिवसका उपलक्ष्यमा राष्ट्रका विभिन्न निकायसँग आबद्ध तथा स्वतन्त्रलगायत समस्त मजदुर समुदायको सुख–समृद्धि एवम् स्वस्थ्य परम्पराको जीवनयापनसँगै उत्तरोत्तर अभिवृद्धिको हार्दिक कामना गरेको छ। 
नेकपा (संयुक्त मार्क्सवादी)ले नेपालमा बन्न लागेको नयाँ संविधानमा मजदुर वर्गीय अन्य महत्वपूर्ण हकअधिकारका साथै खासगरी रोजगारी, शिक्षा, स्वास्थ्य र आवासको सुनिश्चितता कायम गराउनमा सार्थक सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गदर्ैै मजदुर वर्गका हकहितको सुनिश्चितता निमित्त संविधानसभासमक्ष आग्रह गरेको छ। 
अन्तरराष्ट्रिय मे दिवसको उपलक्ष्यमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले विद्यमान श्रम सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा असल श्रम सम्बन्ध र आपसी सद्भावको प्रवर्द्धनमा जोड दिई थप सहकार्य गर्दै जाने प्रतिबद्धतासहित सम्पूर्ण कामदारको समृद्धि र मे दिवसको पूर्ण सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ। 
नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले श्रमजीवी मजदुर एवम् कर्मचारी वर्गमा शुभकामना व्यक्त गर्दै विश्वभरका मजदुरहरूले उठाएका मुक्ति आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको छ

Posted in nepal. 1 Comment »

One Response to “आज विश्व मजदुर दिवस मनाइँदै”

  1. vision thapa Says:

    malai yo news ghat lagdo lague……

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: