नयाँ पुस्ताका रंगीन सपनाहरु

सबै मानिसका लागि जीवन सुखको दस्तावेज मात्र बन्न सक्दैन । केहीका लागि दुःख र वेदनाको दस्तावेज पनि हो यो । सानै उमेरदेखि ठूला सपना बुन्नेहरु जीवनमा सफल पनि भएका छन् । यस्ता कथाहरुले इतिहास नै बदलिदिएका छन् जुन बाराक ओबामा, राइट ब्रदर्श र आइन्स्टाइनका कथाहरु हुन् । सपना बुन्ने र लक्ष्यमा हिंड्ने कुरामा नेपाली नयाँ पुस्ता पनि पछि छैन । कस्ता सपना बुन्दैछन नयाँ पुस्ताका हस्तीहरु ? के गर्ने सोचमा छन् त उनीहरु ? बाराक र आइन्स्टाइन पढेकाहरुको के छ सपना ? यो पटक  प्रस्तुत गर्दछ नयाँ पुस्ताका रंगीन सपनाहरु ।

राजधानीको मुटुबाट केही पर कोलाहलमुक्त एउटा आकर्षक गुम्बा जहाँ विश्वका लाखौं मानिसहरु शान्तिको खोजीमा आउने गर्छन् । त्यो स्थल राजधानीकै उच्चभागमा अवस्थित छ । जहाँबाट काठमाडौँ शहरलाई एकैपटक नियाल्न सकिन्छ । सूर्य उदाउँदा र अस्ताउँदाको दृश्य निकै मनमोहक देखिने यो स्वयम्भुनाथको मन्दिर हो । जहाँ विश्वका करोडौँ मानिसको आस्था जोडिएको छ ।

दिनभरको व्यस्तताले शहर सुतिरहँदा र निन्द्राबाट नब्यूँझदै ‘ऊँ माने पेमे होम’को लयमा स्वयम्भुनाथ ब्युँझिसकेको हुन्छ । स्वयम्भुनाथ दर्शनको क्रम सुरु भइसक्दा आकाशे रंगको सर्ट र गाढा नीलो फ्रक र पाइन्ट लगाएका विद्यार्थीहरुको चहलपहल सुरु हुन्छ । ती स्वयम्भुनाथ मन्दिर नजिकैको रश्मी माविका विद्यार्थी रहेछन् । वौद्धमार्गी स्वयम्भु दर्शनका लागि लाइनमा बसिरहँदा उनीहरु स्कुल लाइनमा पुगिसकेका हुन्छन् ।

js_650यसरी लाइनमा बस्न पुग्नेमध्येकी एक हुन् दीक्षा लामा । प्रारम्भिक शिक्षाको अन्तिम चरणमा रहेका यिनी भविष्यमा के बन्लिन् त ? प्रश्न सोधिनसक्दै मन्द मुस्कानका साथ नर्स बन्ने कुरा बताउन ढिला गरिनन् । काठमाडौं खाल्टोमा जन्मेर यहीं हुर्केकी दीक्षालाई लोडसेडिङले आफ्नो नर्स सपनामाथि तुषारापात हुने डरले पिरोल्न थालेको छ । नेताहरुका नयाँ नेपाल र स्वीजरल्याण्ड बनाउने भाषण सुनेकी उनले तामाङ लवजमा चिन्ता मिश्रति गुनासो पोखिन्- ‘जलस्रोतको धनी देश भन्छन् तर अन्धकारमा बस्नु परेको छ ।’ यसरी लोडसेडिङको मारमा पर्ने उनीमात्र होइनन्, उनकै साथी मन्दिरा महर्जन पनि अर्की प्रतिनिधि पात्र हुन् । उनले दैनिक १६ घण्टा लोडसेडिङ हुँदा पढाइलाई समय दिन सकेकी छैनन् । उनीजस्तै सरिता मोक्तान, छिरिङ डोल्कर, एनिसा तामाङ, अनु मोक्तान पनि लोडसेडिङले पीडित छन् । नजिकिंदै गरेको उच्च शिक्षाको प्रवेश परिक्षाको तयारीमा रहेका उनीहरुले परिक्षाको तयारी राम्रोसँग गर्न सकेका छैनन् । प्रवेश परिक्षाको तयारी बारेको हाम्रो प्रश्नमा उनीहरुले आफूहरु कम्बाइन स्टडी गरिरहेको र ब्रिज कोर्स पनि पढिरहेको बताए । एसएलसी पास हुनेमा विश्वस्त भएको बताउने उनीहरुलाई प्रतिशतको चिन्ताले सताउँदो रहेछ ।

सानै उमेरमा विवाह गर्नु हाम्रो विशेषता हो । अझ ग्रामीण भेग त कलिलै उमेरमा विवाह गर्नमा अगाडि छ । ग्रामीण इलाकामा जन्मिएका भए यिनीहरु बच्चाका आमा बनिसक्थे होला । तर शिक्षित समाजमा जन्मेर हुर्केका यी युवतीहरु कति उमेरमा विवाह गर्लान् ? सोध्ने वित्तिकै गहुँगोरो वर्णकी एनिसा तामाङले हातमा भएको पाइलट पेन टोक्दै भनिन्-‘आफैमा निर्भर भएपछि ।’ कहिले होलान् त यी स्कुले नानीहरु आफैमा निर्भर अनि कहिले गर्लान् त विवाह ? उन्मुक्त हाँसोमा बे्रक लगाउँदै २५ वर्ष भएपछि विवाह गर्ने बताउँछिन् अनु मोक्तान ।

छोरा र छोरीमा भेदभाव गर्नुहुन्न भन्ने स्कुले नानीहरुले छोरी भएकाले केही समस्या भोगेका होलान् त ? अँ छ केही विर्सिएको महत्वपूर्ण कुरा सम्झिएको ढाँचामा आफ्नो सुन्तले ओठ टोक्दै मसिनो स्वरमा भन्छिन्-‘स्कुल जाँदा आउँदा आवारा केटाहरुले जिस्काएर हैरान पार्छन् । के अशिक्षित समाजमा जस्तै यिनका बा आमाले पनि यिनलाई सरकारी स्कुल पढाएर भाइलाई बोर्डिङ स्कुल त पढाएका छैनन् ? शंका व्यक्त गर्न नपाउँदै एउटै भाकामा उनीहरुले आफ्नो परिवारमा त्यस्तो नभएको बताए ।

नयाँ ठाउँ भन्ने वित्तिकै हुरुक्क हुने यी नानीहरु लुम्बिनी, मनकामना, गोरखा पुगेका रहेछन् । गोरखाको दरबार निक्कै मनपर्‍यो रे उनीहरुलाई । सुन्दर सपना साकार पार्न आफ्नो अध्ययनमा जुटिरहेका यी विद्यार्थी भोलिका कर्णधार हुन् । नर्सिङ, ट्राभलिङ्ग, म्यानेजर, एयरहोस्टेजजस्ता सपना थिए उनीहरुका । हामीसँग केही समय गफिएका उनीहरुले देश र समाजको सेवामा खट्ने बताए । देशप्रतिको उनीहरुको प्रेम देखेर यो पंक्तिकारले मनमनै कल्पना गर्‍यो र सम्भmयो चिनियाँ उपन्यास रेडस्टारको नायक सानो उमेरको ठूलो सपना को मालिक तुङ च लाई । के यी स्कुले नानीहरु पनि तुङ च बन्लान् त ? मनमनै गम्दै उनीहरुले पनि देशको आमूल परिवर्तनको पक्षमा वकालत गरे । समाज परिवर्तनको अस्त्र फ्याक्दै भष्टाचारलाई मलजल गर्नेका विरुद्ध खनिए । समुन्नत भावी नेपाल र आफ्नो भूमिकाको चिन्ता गरे । कलम र कापी च्यापेर स्कुल हिंड्ने यिनीहरुलाई देशको पीडा दुख्दो रहेछ ।

विदेश जानेहरुको होडबाजी देखेका यिनीहरु पनि कतै बाहिर जाने त सोचेका छैनन् ? अरुलाई उछिन्दै दीक्षा लामाले विदेश जाने सोच रहेको बताइन् । आफ्ना दादा र दिदी यूएसमा रहेकोले सजिलै जान सक्छिन् रे उनी । नेपालमा पढेर पनि भविष्य नदेख्ने उनलाई नेपालमै रहेकी आफ्नी स्नातक पास गरेकी दिदी बेरोजगार हुनुले विदेश जाने सोच पलाएको रहेछ । उनीसँगै बसेकी मन्दिरा महर्जनको सोच भने दीक्षाको भन्दा अलग छ । उनी नेपालमै बसेर केही उदाहरणीय काम गर्न चाहन्छिन् ।

यता राजधानीसँगै जोडिएको भए पनि पहाडी जिल्ला सिन्धुपाल्चोक कथा बेग्लै छ । त्यहाँका स्कुले नानीहरुका सपना पनि पिछडिएका छन् । देशको राजनैतिक र आमूल परिवर्तनबारे चासो नदिने शहरी पुस्ताभन्दा बेग्लै रंग पाइन्छ उनीहरुमा । देशको भलाईका लागि काम गर्ने, आफ्नो संस्कृति, भाषा,संस्कार र वेशभूषाको संरक्षण गर्ने विश्वमा फरक पहिचान स्थापित गर्ने सपना छ उनीहरुको । शहरी पुस्ताजस्तो अंग्रेजी र हिन्दी गीतको मोह छैन उनीहरुमा । आफ्नै भाकामा पाखा पखेरा नै गुन्जिने गरी उनीहरु ‘गाजलु आँखैले……’ भाका हालेर गाउँछन् । विद्युतको अभावमा भर्खरै स्कुल भित्रिएको कम्प्युटरको अनुहारसम्म देखेका उनीहरुले किबोर्डसम्म पनि हात पुर्‍याउन पाएका छैनन् । एबीसिडी नजान्दै कम्प्युटरको स्क्रीन चहार्ने शहरी पुस्ताजस्तो भाग्यमानी छैनन उनीहरु । दुखेसो पोख्दै विष्णुहरि दुलाल भन्छन्- शहरी पुस्ताजस्तो भाग्यमानी छैनौँ हामी तर त्यो पुस्ताको तुलनामा कम पनि छैनौं ।’ उनीजस्तै उनका साथी प्रज्ञा श्रेष्ठको पनि त्यही गुनासो छ । तर, उनीहरुले हरेश खाएका छैनन् । भविष्यमा असल मान्छे बन्ने आफ्नो लक्ष्यप्रति दृढ छन उनीहरु । उनीहरु कुरामा रंग मिसाउँदै भन्छन्- ‘काँडाको बीचमा नै फुलेको हुन्छ लोभलाग्दो गुलाब, आधुनिक सुविधा भरिपूर्ण विकासको गतिमा अघि रहेको शहरमा लालीगुराँसको कल्पना मात्रै पनि अधुरो हुन्छ । विकट डाँडाकाँडाहरुमा नै फुलेको हुन्छ लटरम्म लालीगुरास’ सायद उनीहरु यो कुरालाई आफ्नो र शहरी पुस्ताको भिन्नताका लागि प्रयोग गरिरहेका थिए र आफ्नो फरक पहिचानको परिचय दिंदै थिए । हो, यिनीहरु लालीगुराँस भएर पहाडमा नै फुलुन् र हराभरा पारुन् सारा देशलाई- पंक्तिकारले शुभेच्छाका शब्दहरु साट्यो ।

टायर बाल्ने र ढुंगा हान्नेको रुपमा परिचय बनाएको युवापुस्ताबारे उनीहरुले गुनासो पोखे । आजका युवापुस्ता उनीहरुले गुनासो पोखे टायर बाल्छन् ढुंगा हान्छन् । यो राम्रो काम होइन तर संस्कृति बनिसकेको छ नेपाली युवाको । के भोलिका दिनमा आजका यी स्कुले नानीहरु ढुंगा हान्नेको भीडमा भेटिएलान् कि नभेटिएलान् ? गफको बिट मार्दै गरेको प्रश्नमा । आजका युवापुस्ता सिर्जनशीलतामा लाग्नुपर्छ न कि विध्वंशमा यही जवाफ दिंदै स्कुले नानीहरु आ-आफ्ना गन्तव्यतिर लागे । लाग्थ्यो उनीहरुको प्रस्थान राष्ट्र निर्माणको पहिलो कदम हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: