बिस्केटमय उपत्यका

ज्ञानेन्द्र विवश
उपत्यका यतिबेला बिस्केटमय सांस्कृतिक उत्सवमा सामेल छ । त्यसैले उपत्यका बिस्केटमय भएको छ । आफैँमा सांस्कृतिक सम्पदाको समृद्ध उपत्यकाले पुख्र्यौली गौरवलाई आधुनिक कालखण्डसम्म जीवन्त राख्दै ल्याएको छ । यसको श्रेय स्थानीय नेवार समुदाय, सरकारी निकाय, विभिन्न सामाजिक र धार्मिक सङ्घसंस्थालाई जान्छ । विक्रम संवत् नयाँवर्षको आगमन साइतमा उपत्यकाका तीन वटै जिल्लाका विभिन्न स्थानमा बिस्केटजात्राको सांस्कृतिक परम्परा फरक-फरक किसिमले मनाइने प्रचलन छ । यद्यपि मनाइने प्रचलन फरक भएपनि त्यसको उद्देश्य शान्तिपूर्ण समाज निर्माणका साथै आपसी मित्रता, सद्भाव, समृद्धि, सुख एवम् आध्यात्मिक र सामाजिक भावनाको सन्तुष्टि हो । यस्तो सन्तुष्टि परापूर्व कालदेखि चलिआएको परम्परामा सामूहिक सहभागिता जनाउँदै त्यसमा आ-आˆनो तर्फबाट गरिने दान, धर्मलगायत संस्कृति संरक्षणको प्रतिबद्धताले प्राप्त हुने गर्दछ । वास्तवमा मानवीय भावनाको विकास गराउनु संस्कृतिको ध्येय हो ।

बिस्केटमय उपत्यकामा अनेक बिस्केट उत्सवका सिलसला गएको सातादेखि यो साताभरि अविच्छिन्न रहिरहन्छ । लिच्छविकालदेखि प्रचलनमा आएको भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको परिचयले सर्वत्र स्थान पाइरहेको सन्दर्भमा उपत्यकाकै अन्य स्थानका त्यत्तिकै पुराना बिस्केट संस्कृतिको चर्चा नहुनु आजको सञ्चार संयन्त्रको पनि कमजोरी हो भन्नुपर्दछ । किनभने भक्तपुर र बिस्केट जात्राको परिचय एक प्रकारले पर्यायवाची जस्तै भइसकेको छ । जसको चर्चा छ, त्यसकै पछि लाग्नु मानवीय स्वभाव हो भन्न सकिए पनि उस्तै जनसमुदाय उत्तिकै सांस्कृतिक मूल्यमान्यता र आस्था आराधनाका साथ बूढानीलकण्ठ, धापासी, टोखा, फुटुङ, हाँडीगाउँदेखि लेले, टीका भैरव, बज्रवाराही, सोनाकोठी सानागाउँ, आदिमा पनि मनाइन्छ । बोडे र ठिमीको त केही चर्चा आउँछ । तर यसकै छिमेकी गाउँ चरखण्डी र चित्रपुरको प्राचीन बिस्केट संस्कृति अद्यापि स्थानीय समुदायमै सीमित रहिरहेको अवस्था छ ।

यस प्रकार अहिले उपत्यका बिस्केटमय त निश्चय नै छ । तर त्यो बिस्केटको परम्परा र प्रवृत्तिप्रति सकारात्मक सोचको पनि उत्तिकै आवश्यकता छ । सबै बिस्केट परम्परालाई समान रूपमा हेर्ने दृष्टिकोणको पनि खाँचो छ । बिस्केट परम्पराभित्र अन्तर्निहित भावनाको मनन गर्दै त्यसमा रहेका कतिपय रूढीवादी धारणाको अन्त्य गर्नु पनि आवश्यक छ । कुनै पनि जात्रा संस्कृति मनाउनुको अर्थ आफू, आफन्त र समस्त मानिसको खुसियालीका निम्ति हो र हुनुपर्दछ । यसमा जाँडरक्सीको अत्यधिक सेवन, आपसी झैझगडा, पैसाको अनावश्यक खर्च तथा भड्किलो भोजको व्यवस्थाले प्रशस्तै विकृति देखापर्न थालिसकेको छ । यसमा समय छँदै ध्यान पुर्‍याउँनसकिएन भने मौलिकताकै पाटोले उल्टो गति लिन थाल्छ । अर्थात् परापूर्वदेखि गौरवमय सांस्कृतिक पहिचानको रूपमा स्थापित जात्रा संस्कृतिको सुसभ्य र सुसंस्कृत परम्परा विकृतिको स्वरूपमा रूपान्तरण भयो भने त्यो दुर्भाग्य नेपाल र नेपालीकै हुनेछ ।

विश्वमा यस्ता कैयौं राष्ट्र छन्, जहाँको आफ्नै युगौं पुरानो पर्व परम्पराका अक्षुण्ण गतिले त्यस राष्ट्रको चिनारीलाई सदा गतिमय पारिराखेको छ । नेपाल पनि त्यस्तै राष्ट्रमध्येको एक यस्तो राष्ट्र हो जहाँको कला र संस्कृतिको समृद्ध परम्परा हेर्न विश्व सधैँ लालायित हुने गर्दछ । यतिबेला नेपाल राज्य परिवर्तनको नवीनतम मोडमा उभिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालकारूपमा रूपान्तरण भएपछि कतिपय सांस्कृतिक र धार्मिक परम्परामा पनि समयसापेक्ष परिवर्तनको आवश्यकता टड्कारो देखिएको छ । खर्चिलो संस्कृति घटाउँदै बलिप्रथाको विस्तारै अन्त्य गर्नु सबैको जिम्मेवारी भएको छ । यस वर्षको बिस्केट संस्कृतिमा पनि यसको बोध गरिएको र क्रमशः सुधारका सङ्केत पनि देखिएका छन् ।

अन्ततः बिस्केटमय उपत्यकामा नयाँ वर्षको बिदाइसँगै नयाँवर्षको स्वागतमा उत्सुक उपत्यकावासीको साझा पर्व बिस्केटले आपसमा मित्रता गाँस्दै शान्ति र समृद्धपूर्ण जीवनयात्राको अभिलाषालाई प्रकट गर्ने गर्दछ । यही अभिलाषाको प्राप्तिका लागि अनेक सत्कर्म संस्कृतिमा आयाममा उपत्यकाका नेवार समुदाय बाहेक यसरी निर्लिप्त रहन्छन्, जसका निम्ति अरु कामको कुनै महìव हुँदैन बिस्केट संस्कृति । यति महìव, यति ठूलो आस्था र यति धेरै श्रद्धा प्रकट गरिँदै परम्पराको निर्वाह प्रत्येक बिस्केट स्थलका समुदायले गर्दै आइरहेका छन् । निश्चित स्थानमा ३२ हातको लिङ्गो ठड्याइएपछि सो नढालेसम्म त्यहाँ जात्राको परम्परा कायमै रहन्छ । त्यस लिङ्गोमा अष्टमातृका गणका चित्र अङ्कति पताकाले सजाइन्छ । लिङ्गोलाई तान्त्रिक बिधिले पूजा गरी देवीदेवताका शक्तिशाली वाहनका रूपमा नाग र नागिनीको आब्हान गरिन्छ । यसरी बिस्केट जात्रामा लिङ्गो ठड्याउने र लिङ्गो ढाल्ने प्रचलनको ठूलो महìव छ भने त्यसबीच विभिन्न देवी देवताहरूलाई सिङ्गारिएका खटमा विराजमान जरी टोल परिक्रमा गराउँदै स्थानीयबाट पूजाआजा गर्ने र देवतालाई देशदर्शन गराइन्छ । खटजात्रा गर्दै बाल, युवा, वृद्धसम्मको संलग्नता र गुठियार, नाइके परम्परागत बाजागाजाको अगुवाइमा भव्य सांस्कृतिक उत्सव सार्वजनिक हुन्छ । खटजात्राको कार्य भए पनि उपत्यकाका विभिन्न स्थानमा मनाइने जात्रालाई मूलतः विस्केटजात्रा नै भन्ने गरिएको पाइन्छ । त्यसले दिने सन्देश र सन्तुष्टि तथा उद्देश्य पनि लगभग एउटै रहेको हुन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: